४ मङ्सिर २०८०, करिब डेढ दशक खाडी मुलुकमा बसेर काम गर्दा ठेला उठेको रित्तो हात र सात लाख रूपैयाँ ऋण बोकेर घर फर्किंदा म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीका धनबहादुर श्रीष निराश थिए। उनलाई त्यसबेला छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र घरायसी खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोलिरहेको थियो।
उनले घरको आगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाटै व्यावसायिक बाख्रापालन गर्ने सोच बनाएर २०६८ सालमा जग्गा धितो राखेर एउटा बोएर बाख्रा खरिद गरे। कुनै समय विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न घरमै जसोतसो गरेको बाख्रापालन अहिले पैसा आउने मूल स्रोत बनेको छ।
स्थानीय जातका बाख्रामा क्रस गर्दै बोएर बाख्राको स्रोत केन्द्र आफ्नै घरमा बनाएर बोयर बाख्रापालनबाट करोडपति भएका श्रीष अहिले भने निराश छन्।
तीन वर्ष अगाडिसम्म श्रीषले साढे तीन लाख मूल्यमा बिक्री गरेको विशुद्ध बोयर जातका बोकाको मूल्य अहिले ८० हजारमा झरेको छ। बोयर बाख्रा खरिद गर्न श्रीषको फार्ममा तँछाडमछाड गरिरहेका दृष्यहरू अहिले देखिँदैनन्।
अहिले फार्ममा भएका खैरो र सेतो रङ मिसिएको दुई वटा बोकासहित बोयर जातका सत प्रतिशत शुद्ध बाख्रा र पाठापाठीलाई रोजेर ८० हजार नै दिन्छन्। पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रा लि बाट बाख्रा पाल्न सुरू गरेका श्रीसले नेपालभरि बिक्री गर्दै आएका छन्।दुई/तीन वर्ष पहिले बोयरका बोका र पाठीलाई दुई लाख रूपैयाँमा बिक्री गर्दा वार्षिक ६० लाख रूपैयाँको कारोबार गरेका श्रीषले अघिल्लो वर्ष १२ लाखको मात्रै कारोबार गरेको बताए।
‘गाउँघरमा युवाहरू छैनन्, बाख्रापालन गरेका युवाहरू पनि विदेश लागे, अहिले बोयरजातका बाख्राको बजार धेरै तल झरिसक्यो’ अगुवा कृषक श्रीषले भने।श्रीसले आफ्नो फार्ममा करिब दुई करोड लगानी रहेको बताए। फार्ममा पाठाहरू जन्माउने १५ वटा माउ बाख्रा र अन्य साना पाठापाठी छन्। अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेका उनले जन्मदर
बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुने लगायतका विशेषता यसजातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाइ गरेको अनुभवसमेत उनीसँग छ।
अहिले बोयर जातिका बोकालाई उत्पादन बढाउन छोडेर मासुको रूपमा प्रयोग गरेको बताए। नश्ल सुधारका लागि दुईवटा बोका फार्ममा पालिरहेका श्रीषले मासुका लागि प्रयोग गर्ने तयारी गरेको बताए।
फार्मका २० वटा बोयर जातका बाख्रा म्याग्दी र बाहिरी जिल्लाका कृषकलाई पाल्न दिएको बताए । करिब तीन दशकसम्म बाख्रापालन गर्ने लक्ष्यसहित ६० रोपनी जग्गामा घाँस खेती गरेका श्रीषले युवा पलायनको असर बाख्रापालनमा देखिएको बताए।
‘अहिले धेरै बाख्रापालक कृषक निराश छन्, ‘एकवर्ष यस्तै भए धेरै बाख्रा फार्म बन्द हुन्छ’ म्याग्दीकै नमुना बाख्रापालक समेत रहेका श्रीषले भने। उनले सामुदायिक बनजंगलको चरन क्षेत्र प्रयोगको वातावरण नहुँदा धेरै युवा कृषकहरू महँगोमा घाँस किन्न बाध्य भएको बताए।
आर्थिक संकट, युवाको पलायन, बाख्रापालनमा लागेकालाई अनुदानसहित सहुलियत कर्जा, कृषि र पशुपालनमा सरकारी निकायबाट बजेट विनियोजनमा गरिएको बेवास्ताका कारण बाख्रापालनमा लागेकाहरू पलायन भएको बताए।
२०६८ सालदेखि बाख्रा पालन गरेका श्रीसले स्थानीय जातका बाख्रापालन छोडेर जिल्लामै पहिलो पटक बोयर पालन सुरू गरेका थिए। उनको फार्म र बाहिर पाल्न दिएको गरी करिब एक करोड मूल्य बराबरको बोयर बाख्रा बिक्री नहुदाँ समस्यामा छन्।
साभार: नागरिक दैनिक
©2023 Rapti Pahichan. All rights reserved.