दाङ, २६ माघ । दाङ बबई गाउँपालिका वडा नं.७ ले आधारभूत औषधी खरिदकालागि छुट्याईएको बजेटबाट गेट निर्माण गरेको छ । एउटा शीर्षकको बजेटलाई अर्को शीर्षकमा रकमान्तर गर्न गाउँसभाबाट पारीत हुनुपर्छ । तर, रकमान्तर नगरी वडाले औषधी खरिदकालागि छुट्याईएको बजेटबाट गेट निर्माण गरेको छ । वडाध्यक्ष तिलकराम भण्डारीका अनुसार वडा कार्यालय प्रवेश गर्ने गेटमा बजेट रकमान्तरण गरिएको हो । औषधी खरिदकालागि गाउँपालिकाको एक लाख छुट्याईएको थियो ।‘वडाले निर्णय गरेर हामीले एक लाख रुपैँया औषधी खरिदकालागि छुट्याएका थियौं’,अध्यक्ष भण्डारीले भने‘तर, वडाले औषधी खरिद गर्न नमिल्ने रहेछ, त्यसैले हामीले त्यो बजेटलाई गेट निर्माणमा खर्चिएका हौं ।’
नेपाल सरकारको खरिद प्रक्रिया अनुसार खरिद गर्नुपर्ने भएकाले वडाले औषधी खरिद गर्न नमिल्ने भएपछि आफूहरुले त्यो बजेटलाई गेट निर्माणमा खर्चिएको उनले बताए । करिब ३ हप्ता अघि वडा समितिको बैठकले औषधीमा छुट्याएको बजेटलाई वडा समितिले गेट निर्माणमा खर्च गर्ने निर्णय गरेको हो । तर, गाउँसभामा भने विहीबार मात्रै त्यो विषय प्रवेश गरेको छ । गाउँसभाले पास नगर्दै गेट निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ ।
दुई हप्ता अघि देखि नै वडामा गेट निर्माण गर्न थालिएको हो । निर्माण सामग्री वडा आफैले उपलब्ध गराउने र ठेकेदारले गेट निर्माण मात्रै गर्ने गरि जिम्मा दिइएको छ । ठेकेदारलाई गेट निर्माणकालागि ४० हजार उपलब्ध गराईएको छ ।‘वडामा तालिमका बेलाका इट्टा,सरिया, फलाम थिए त्यही प्रयोग ग¥यौं, केही खरिद ग¥यौं’,वडाध्यक्ष भण्डारीले भने । प्रक्रिया मिचेर बजेट खर्च गरेपछि स्थानीयले भने प्रश्न चिन्ह उठाएका छन् ।
©2023 Rapti Pahichan. All rights reserved.