आइतवार दुर्घटनामा परेको यती एयरलाइन्सको बिमानको मुख्य भाग उठाउदा पनी ४ जनाको शव फेला परेको छैन |अझै ४ जनाको शव शव फेला पार्न सकेका छैनौ कास्की का प्रमुख जिल्ला अधिकारीले बताए |
काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको हो । चालक कमल केसीले सो विमान उडाएका थिए ।
७३ वर्षिय हवाई इतिहासमा दुर्घटनाको संख्या १०४ पुग्यो
सो विमान पोखराको टावरसँग सम्पर्कमा आएको एक मिनेटभित्रै सेती नदीको खोंचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्यतिबेला क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३ शून्यमा ल्यान्ड गर्न आग्रह गरेका थिए । तर, चालक केसीले अर्को रनवे मागेका थिए । रनवे थ्री जेरोमार्फत ल्यान्ड गर्नुभन्दा चालकले होइन रनवे ‘वान टु’ बाट आउँछु भनेर अर्को रनवे खोजेका थिए । अर्को रनवेबाट आउन क्लियरेन्स दिनेबित्तिकै दुर्घटना भएको र सो दुर्घटना के कारण भयो भन्ने’दयगत अहिलेसम्म नखुलेको प्राधिकरणले जनाएको छ ।
एकै वर्षमा यतीका दुई विमान दुर्घटना
आइतबारको दुर्घटनासँगै यती समूहद्वारा सञ्चालित एयरलाइन्सको एकै वर्षमा दुईवटा विमान दुर्घटना भएका छन् । यसअघि यती एयरको भगिनी संस्था तारा एयरको विमान पोखराबाट जोमसोम जानेक्रममा गत १६ जेठमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।
यसअघि नेपाली आकाशका भएको अहिलेसम्मकै ठूलो विमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको विमान दुर्घटना हुँदा १ सय ६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको विमान दुर्घटनामा १ सय १३ यात्रुले ज्यान गुमाएका थिए ।
त्यसपछि पछिल्लोपटक सन् २०१८ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरको विमान दुर्घटनामा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमान दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट ३ सय ७३ जना यात्रुले ज्यान गुमाइसकेका छन् । तर, यी सबै अन्तर्राष्ट्रिय उडानअन्तर्गतका विमान दुर्घटनामा परेका थिए ।
आन्तरिक उडानतर्फ आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षति भएको हवाई दुर्घटना हो । यसभन्दा अघि हेलिकोप्टर र ४२ सिटे विमानभन्दा ठूलो आन्तरिक दुर्घटना भएको थिएन ।
नेपालको हवाई इतिहासमा आइतबार पोखरामा भएको यती एयरको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १ सय चारवटा पुगेको छ । सर्वप्रथम २००६ सालमा तत्कालीन राजा महेन्द्रले काठमाडौंको सानो गौचरण (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ) मा डकोडा विमान ल्याएपछिको ७३ वर्षको हवाई इतिहासमा दुर्घटना संख्या १ सय ४ पुगेको हो ।
२०१२ सालको वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन’ अनुसार व्यावसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५०औं दुर्घटना हो । हालसम्म नेपालमा एउटा मात्र इन्जिन भएका आठवटा विमान दुर्घटना भएका थिए भने हेलिकोप्टरतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ १० वटा वायुसेवा गरी नेपालमा हालसम्म सानाठूलासहित १ सय ४ वटा विमान दुर्घटना भइसकेका छन् ।
विभिन्न दुर्घटनाबाट अहिलेसम्म साढे ८ सयजना भन्दा बढी यात्रुको मृत्यु भइसकेको छ । आइतबार पोखरामा भएको यतीको दुर्घटनाबाहेक हालसम्म यस्ता हवाई दुर्घटनामा ८ सय ४९ जना यात्रुको मृत्यु भइसकेको छ । अब यसमा ७२ जनाको संख्या जोडिनेछ । जसमा आन्तरिकतर्फ ३ सय ६४ जना, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५ जना, हेलिकोप्टरतर्फ ८५ जना र अन्तर्राष्ट्रिय वायुसेवातर्फ ३ सय ७५ जना गरी कुल ८ सय ४९ जनाको मृत्यु भइसकेको छ ।
आइतबार पोखरामा भएको यती एयरको एटीआर विमान दुर्घटना २४ वर्षयता भएको यती समूहको १४औं हवाई दुर्घटना हो । यसअघि गत जेठमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर जाँदै गरेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा चालकदलसहित २२ जनाको मृत्यु भएको थियो । सुगम उडानमा यतीको नाममा पाँचवटा एटीआर विमान भएको यती एयरलाइन्ससँग अब जम्मा चारवटा एटीआर विमान मात्र बाँकी छ । पोखराको विमान दुर्घटनापछि यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार दिनभर उद्धार कार्य भएको जानकारी गराए । यसअघि भएका विभिन्न दुर्घटनामध्ये सबैभन्दा धेरै यात्रुको मृत्यु सन् २००० को विमान दुर्घटनामा भएको थियो । डडेलधुरामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना
आइतबार बिहान भएको यतीको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौंबाट उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोंचमा झरेर दुर्घटनाग्रस्त भएको हो ।
आज यतीका सबै उडान रद्द
यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) निर्धारित सबै उडान रद्द गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै यतीले सोमबार आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । यतीको ९एन एएनसी एटीआर ७२–५०० विमान विमान दुर्घटनाबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने अन्यको उद्धार एवं खोजी भइरहेको छ ।
आन्तरिकतर्फका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन
सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा यती एयरको विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । आन्तरिक उडानका विमानको अनुगमन नागरिक उड्डयन प्राधिकरणले नै गर्नेछ । ‘यो व्यवस्थाले आगामी दिनमा यस्ता हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने अपेक्षा गरिएको छ,’ बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।
यतीको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । सो विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको सदस्यमा हवाईविज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा रहेका छन् । यसैगरी, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने छन् ।
यसैगरी, दुर्घटनाका बारेमा जानकारी लिन चाहने मृतक यात्रुका परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, विमान दुर्घटनामा परेकाको शव बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने निर्णयसमेत सो बैठकले गरेको छ ।
©2023 Rapti Pahichan. All rights reserved.