तुलसिपुर, १- फागुन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं तत्कालीन माओवादी ‘जनयुद्ध मा सहभागी टोपबहादुर रायमाझीले क्यान्टोनमेन्टमा ७ अर्ब रुपैयाँ घोटाला भएको बताएका छन्। बुटबलमा आयोजित पूर्वजनमुक्ति सेनाको राष्ट्रिय भेलामा बोल्दै रायमाझीले क्यान्टोनमेन्टमा भएको ७ अर्ब घोटालाको हिसाब माग गरे।
‘क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर रु ३४ हजार भत्ता बुझ्यौँ, करिब रु सात अर्ब घोटाला भएको छ, त्यो पैसा कहाँ गयो ? त्यसको हिसाबकिताब हुनुपर्छ, उनले भने। जनआन्दोलनमा लडेकालाई सम्मानजनक राहतका लागि सरकारले योजना बनाइसकेको जनाउँदै उनले अब छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गरे। पुरानो व्यवस्था पल्टाएर नयाँ व्यवस्था ल्याउने सबै पूर्वलडाकुलाई हामीले सम्झनुपर्छ’, रायमाझीले भने।
उनले दाहाल–नेपाल पक्ष विकास र समृद्धिको मुद्दा बिर्सिएर सडक सङ्घर्षमा लागेको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि राजनीतिक सङ्घर्ष समाप्त भएर देश विकास र समृद्धिमा अघि बढ्ने अपेक्षालाई केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण पूरा गर्न नसकिएको बताए। केही नेताको व्यक्तिगत स्वार्थ र आकाङ्क्षाका कारण परिवर्तनका लागि लडेका योद्धाहरुको खोजी हुन सकेन त्यही कारण यो स्थिति आयो’, उनले भने।
भेलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं पूर्वमाओवादी लेखराज भट्टले विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई बुर्जुवा शिक्षाको काम छैन भनी विद्यालयबाट निकालेर जनयुद्धमा समावेश गराएकाले अहिले आफ्नो स्वार्थ पूरा भएपछि लात हान्ने काम गरेको बताए। भट्टले पनि माओवादी जनयद्धका समयमा पूर्वलडाकुका विभिन्न डिभिजनमा झण्डै ६० करोडको अनियमितता भएको खुलासा गरे। उनले जनयुद्धका कमीकमजोरी र राम्रा पक्षको विश्लेषण गर्दै यसको स्वामित्व लिन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।
मन्त्री भट्टले भूमि, व्यवस्था आयोगमार्फत घरबारविहीन भएका पूर्वलडाकुका मागलाई सम्बोधन गर्ने बताउँदै विध्वंशकारी अराजनीतिक प्रतिक्रान्ति गतिविधि रोक्न जनमुक्ति सेना अगाडि आउनुपर्ने धारणा राखे।
©2023 Rapti Pahichan. All rights reserved.