सल्यान : सल्यानमा तीनवटा क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ। जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा त्रिवेणी र कालीमाटी गाउँपालिका तथा बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित तीन क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो।
त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा पिमखोलाको गिट्टीबालुवा निकालेर क्रसर उद्योग सञ्चालनमा ल्याइएको छ। कालीमाटी र बन्गाडकुपिण्डेमा सडक निर्माण गरिरहेका ठेकेदारले जथाभावी गिट्टी उत्पादन गरिरहेका छन्। कालीमाटी र बनगाडमा दर्ता नै नगरी उद्योग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए।
क्रसर उद्योगले निश्चित मापदण्ड पूरा नगरे सिल गर्ने प्रजिअ तामाङले बताए। ‘निश्चित अवधिमा मापदण्ड पूरा नगरे उद्योग सिल गरिनेछ,’ उनले भने, ‘वातावरण परीक्षण नै नगरी बस्तीदेखि एक किलोमिटरभित्रको दूरीमा उद्योग सञ्चालन भएको भेटियो।’
बन्गाडकुपिण्डेमा विशाल निर्माण सेवा र कालीमाटीको रामपुरमा तुल्सीपुर– पुरन्धारा हुँदै सुर्खेतसम्म सडक स्तरोन्नतिको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनले क्रसर उद्योग सञ्चालन गरिरहेको छ। रिखेबजारको पिमखोलामा बालुवा प्रशोधन उद्योगले बालुवा उत्पादनका नाममा गिट्टीढुंगा बिक्री गरिरहेको अनुगमनका क्रममा भेटिएको डिभिजन वन प्रमुख रेशम गिरीले बताए।
©2023 Rapti Pahichan. All rights reserved.