होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बुधबार मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएको बताए ।
उनले जथाभावी औषधी खाँदा स्वास्थ्यमा नकरात्मक असर पर्ने हुँदा चिकित्सकको सिफारिसमा मात्र औषधी सेवन गर्न आग्रह गरे । उनले होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने जस्ता मन भुलाउन र सिर्जनात्मक काम गर्न सुझाव समेत दिए ।
यस्तै, सरकारले होम आइसोलेसेनमा बसेका संक्रमितहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलिकाउन्सिलिङ (टेलिफोनमार्फत परामर्श) दिनुपर्ने निर्णय गरेको हो । ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफै र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयको तथ्यांकअनुसार हाल ३० हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।
होम आइसोेलेसनको अनुमति दिँदा स्थानीय तहका स्वास्थ्यकर्मीहरुले निगरानी गर्ने निर्णय भएको थियो । तर यो कार्यान्वयन हुन सकेन । अब प्रयोगशालाको जिम्मामा छाडिएको छ । त्यस्तै, नेपाल प्रहरी अस्पताललाई ३०० बेडको कोभिड अस्थायी अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.