भरतपुर । चितवनमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ ह ४४७ नं. को अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना५०प ४५५० नं. को मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताए । उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
©2023 Rapti Pahichan. All rights reserved.