रुकुम । सात दिनदेखि हिउँमा फसेका रुकुमपूर्वका १४ मजदुरलाई उद्धार गरिएको छ । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु सात दिनदेखि हिउँमा फसेका थिए ।
गाउँपालिकाको वडा नम्बर २ मा सडक निर्माणका लागि खटिएका कामदारहरु गएको १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका हुन् । गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनीहरु बाक्लो हिउँका कारण आउन सकेका थिएनन् ।
वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन सात दिनदेखि ओढारमा बसेका थिए ।
उनीहरुको हेलिकप्टर मार्फत उद्धार गरिएको रुकुम पुर्बका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । सुरुमा हिउँ पग्लेला र जाउँला भनेर खबर नगरेको र पछि बाक्लो हिमपात भएपछि गोठ वा ओढारको सहायतामा बसेको उनीहरुको भनाइ छ ।
©2022 Rapti Pahichan. All rights reserved.